Skip to content

खरानीबाट आशातर्फ

व्यक्तिगत विवरण: कुलबहादुर तामाङ

प्रकाशित

Read in English

People standing in deep snow watching a column of smoke and flames rise from the Dingboche lodge.
३० अक्टोबर २०२६ मा डिङ्बोचेको लज जलिरहँदा हिउँमा उभिएका मानिसहरू।

शुक्रबार, कात्तिक १३, २०८३ (३० अक्टोबर २०२६)

प्रिय स्वदेशी तथा विदेशी मित्रजन, आफन्त एवम् समस्त शुभचिन्तकहरूमा,

अश्रुपुरित नमस्कार !

दैवले पनि परीक्षा त्योसँग मात्र लिन्छ, जो लड्दा पनि फेरि उभिन सक्ने तागत राख्छ । हाम्रा पूर्खाहरूले भनिटोपलेका उपर्युक्त हरफहरू आज आएर मेरो आफ्नै जीवनको सबैभन्दा कठोर यथार्थ बनेका छन् । विपद् बाजा बजाएर आउँदैन भन्ने त सुनेको थिएँ, तर जब यो मेरो जीवनमा आइपुग्यो, यसले वर्षौंसँगै जोडेका मेरा सपना, पसिना र अथक मिहिनेतलाई निमेषभरमा खरानी बनाइदियो ।

गत अक्टोबर ३०, २०२६ (शुक्रबार) को त्यो दिन मेरो स्मृतिबाट कहिल्यै मेटिनेछैन । नेपाली समयानुसार बिहानको करिब ११:३० बजेको हुँदो हो, म त्यो बेला नाम्चे बजारको एक लजमा पाहुनाहरूको सेवामा व्यस्त थिएँ । बाहिर मौसम निकै खराब थियो र हिमालतिर भारी हिमपात भइरहेको थियो । त्यही बेला अचानक डिङ्बोचेबाट आएको एउटा फोनले मेरो संसार नै शून्य बनाइदियो । डिङ्बोचेमा रहेकी मेरी श्रीमती छेतेन डोमा शेर्पाले थरथराउँदै भनिन्– “हाम्रो होटल ‘गुड लक लज एन्ड रेस्टुरेन्ट’ मा भान्साको ग्यास लिक भएर अकस्मात् आगलागी भयो ।”

शुरुमा त मैले सोचेँ, भान्सामा हुने सामान्य घटना होला, जसलाई छिट्टै नियन्त्रणमा लिन सकिन्छ । मैले तुरुन्तै उनीहरूलाई त्यहाँ भएको अग्निनियन्त्रण यन्त्र प्रयोग गर्न र संयमित रहन सम्झाएँ । तर, केही बेरमै मेरा मित्रहरूका सामाजिक सञ्जालमा मेरा होटलका भवनहरू एकपछि अर्को गरी दन्किरहेका प्रत्यक्ष भिडियोहरू देखिन थाले । आगो जसरी दन्किरहेको थियो, त्यो मेरो कल्पनाभन्दा विल्कुल बाहिरको, एउटा कहालीलाग्दो सपनाजस्तो थियो । डिङ्बोचेको त्यो उचाइ, जहाँ हिमपात भए हिउँ थुप्रिएको छ, त्यहाँ त्यसरी सिङ्गो गाउँ नै जले झैँ गरी आगो फैलिन्छ भन्ने मैले कहिल्यै सोचेको थिइनँ ।

Thick grey smoke pouring from the lodge's long building as snow falls, with two people in the foreground.
हिउँ परिरहेका बेला लजबाट उठिरहेको धुवाँ।

नाम्चेबाट डिङ्बोचेको दुरी सामान्यतया पदयात्रीहरूका लागि दुई दिनको हुन्छ । म चाहँदाचाहँदै पनि तुरुन्तै त्यहाँ पुग्न सक्ने अवस्थामा थिइनँ । सामाजिक सञ्जालमा जलिरहेका भिडियोहरू हेर्नुबाहेक मेरो सामुन्ने अर्को कुनै विकल्प थिएन । आफ्नै जीवनभरको लगानी र पसिना जलिरहँदा एक लाचार दर्शक बनेर मोबाइलको स्क्रिन हेर्नुको पीडा शब्दमा वर्णन गर्नै सक्दिनँ । त्यो दृश्य देखेपछिको चरम मानसिक आघातले मेरी श्रीमती बेहोस भएको खबर आयो, र म पूर्ण रूपमा शब्दविहीन भएँ ।

तथापि, यो भीषण विपद्का बिचमा पनि एउटा यस्तो सत्य छ जसले मेरो छातीमा सान्त्वनाको शीतलता छिटो हाल्यो । त्यो दिन हाम्रा डाइनिङ हल र कोठाहरूमा गरी पदयात्री, गाइड र सहयोगीहरू गरेर करिब २०० जना पाहुनाहरू उपस्थित थिए । अचानक आगो फैलिएपछि मानवीय सतर्कता र समयमै गरिएको भागदौडका कारण होटलमा बसेका सबै पाहुनाहरू सकुशल बाहिर निस्कन सफल भए ।

Mattresses and bedding in the snow, while the lodge burns behind under heavy black smoke.
जलिरहेको लजबाहिर हिउँमा रहेका गद्दा र ओछ्यानका सामान।

जलिरहेका भौतिक संरचनाभन्दा मेरा पाहुना, मेरो परिवार र छिमेकीहरूको सुरक्षित जीवन मेरा लागि सर्वस्व थियो । भाग्यवश, कुनै पनि मानवीय क्षति हुन पाएन । यस महासंकटको घडीमा डिङ्बोचेका स्थानीय बासिन्दा, ट्रेकिङ गाइड र सहयोगी साथीहरूले जसरी आफ्नो ज्यानको बाजी लगाएर पाहुनाहरूको उद्धार गरे, त्यसले मलाई फेरि एकपटक महसुस गरायो— “संकटमा साथ दिने नै साँचो साथी हुन् ।” खुम्बु क्षेत्रका सम्पूर्ण शेर्पा समुदाय र सहयोगी हातहरूप्रति म मेरो जीवनभर आभारी रहनेछु ।

A crowd in winter jackets watching flames and black smoke rise from the lodge buildings in falling snow.
लज जलिरहँदा बाहिर उभिएका मानिसहरू।

४६ वर्षको उमेरमा, मूल घर वडा नं. ६, चाँगुनारायण, भक्तपुर भए पनि मेरो कामकाजी जीवनको ठुलो हिस्सा खुम्बु क्षेत्रमा बितेको छ । विगत २७ वर्षदेखि निरन्तर रूपमा यसै क्षेत्रमा रहेर नेपालको पर्यटन उद्योग, पदयात्रा व्यवसाय र आतिथ्य सेवामा मैले आफ्नो ऊर्जा खर्चंदै आएको छु ।

डिङ्बोचेमा करिब २.५ रोपनी जग्गामा मैले ठूलो सपनासहित ‘गुड लक लज एन्ड रेस्टुरेन्ट’ स्थापना गरेको थिएँ । यो होटल व्यवसाय मात्र नभई मेरो चौध वर्षको कठोर परिश्रम, रातदिनको उकालो–ओरालोको पसिना र मेरो पहिचान थियो । यसले मलाई विभिन्न देश, संस्कृति र भाषाभाषीका अन्तर्राष्ट्रिय यात्रीहरूसँग जोड्ने एउटा सुन्दर चौतारी दिएको थियो । एभरेस्ट बेस क्याम्प र खुम्बु क्षेत्रका अन्य गन्तव्यतर्फ जाने पदयात्रीहरूका लागि उचाइअनुकूलनको एक प्रमुख विश्रामस्थलको रूपमा यो परिचित थियो ।

१८ महिना अगाडि मात्रै मैले हाम्रा पाहुनाहरूलाई अझ स्तरीय सेवा, आधुनिक सुविधा र आरामदायी वातावरण प्रदान गर्न यस होटलको ठूलो लगानीमा मर्मतसम्भार र स्तरोन्नति गरेको थिएँ । कोठाहरू चिटिक्क पारेको थिएँ, नयाँ फर्निचरहरू थपेको थिएँ र भान्साको व्यवस्थापनलाई परिमार्जन गरेको थिएँ ।

तर, दुर्भाग्य !

ती सबै मिहिनेत र लगानीलाई आगलागीले केही घण्टाभित्रै खरानी बनाइदियो । यहाँ रहेका पाँचवटा भवनहरूमध्ये चारवटामा विनाशकारी क्षति पुगेको छ भने बाँकी रहेको एउटा भवन पनि नराम्ररी क्षतिग्रस्त भएको छ । आज डिङ्बोचेमा मेरो त्यही प्रिय होटल एउटा उजाड खण्डहरमा परिणत भएको छ ।

Flames rising through the roof and windows of the lodge's stone buildings.
लजका झ्यालहरूमा देखिएको आगोको ज्वाला।

भनिन्छ– पतनको अन्त्य नै उत्थानको आरम्भ हो । यो भीषण विनाशपछि, पहिलो केही दिन त मलाई लाग्यो कि अब म कहिल्यै डिङ्बोचे फर्कने छैन । सबै कुरा सकियो । फेरि त्यत्रो लगानी, समय, त्याग र समर्पण जुटाएर पूर्ववत् अवस्थामा फर्किन कम्तीमा पनि तीन वर्षभन्दा बढी लाग्न सक्छ भन्ने सोच्दा मेरो खुट्टा काम्थे ।

तर, यसैबिच मेरा परिवार, आफन्त, देश–विदेशका पुराना पाहुना, ट्रेकिङ तथा ट्राभल एजेन्सीका साथी र थुप्रै शुभचिन्तकहरूले मलाई फोन, म्यासेज र प्रत्यक्ष भेटघाटमार्फत लगातार ढाडस दिन थाल्नुभयो । सबैको एउटै स्वर थियो— “कुलजी, हार नमान्नुस् ! तपाईंको पछाडि हामी छौँ । हामी तपाईंलाई फेरि डिङ्बोचेमा नयाँ ऊर्जाका साथ उभिएको हेर्न चाहन्छौँ ।”

मानिसको जीवनमा धनसम्पत्ति त कमाउन सकिन्छ, तर मानिसको विश्वास र माया कमाउनु नै जीवनको सबैभन्दा ठूलो पुँजी हो । जब मलाई चारैतिरबाट यस्ता प्रेरणादायी शब्दहरू प्राप्त भए, मैले महसुस गरेँ— मैले भौतिक भवनहरू मात्र गुमाएको हुँ तर मेरा लागि सबैभन्दा बहुमूल्य कुराहरू— तपाईंहरूको माया, विश्वास र साथ अझै पनि सुरक्षित छ ।

हातका औँला सबै एकनास हुँदैनन्, तर जब मुठी कसिन्छ, तब तागत बन्छ । तपाईंहरूको यही सुन्दर वचन, खुम्बुली जनसमुदायको माया र हौसलाले मभित्र एउटा नयाँ अङ्कुर पलायो । मैले गहिरो आत्मबलका साथ दृढ संकल्प गरेको छु— म फेरि उठ्नेछु !

यो लडाइँ केवल काठ, ढुङ्गामाटो र जस्तापाता जोडेर एउटा भवन ठड्याउने मात्र होइन; यो त एउटा भत्केको सपनालाई पुनर्जीवित गर्ने, हिमाली आतिथ्यताको परम्परालाई जोगाउने र विश्वभरका यात्रीहरूलाई फेरि एकपटक स्वागत गर्ने साझा चौतारीको निर्माण हो । मलाई राम्रोसँग थाहा छ, अगाडिको यो बाटो निकै कठिन र काँडेदार छ । साधनस्रोत र आर्थिक सङ्कटको पहाड सामुन्ने उभिएको छ । तैपनि, म साहस, धैर्य, कडा परिश्रम र दृढ इच्छाशक्तिका साथ यी सबै चुनौतीहरूको सामना गर्न पूर्ण रूपमा तयार छु ।

यस दुःखद घडीमा मेरा केही नजिकका आफन्त, साथीभाइ र सहयोगी मनहरूले स्वतःस्फूर्त रूपमा नैतिक, भौतिक र आर्थिक सहयोगको हात बढाइसक्नुभएको छ । उहाँहरूको त्यो उदार भावना र अपनत्वले मेरो यो आगामि यात्रालाई अझ बलियो बनाएको छ । तपाईंहरूले नै मलाई सम्झाउनुभयो कि मानवता कुनै पनि विपत्तिभन्दा ठूलो हुन्छ र एकता कुनै पनि क्षतिभन्दा शक्तिशाली हुन्छ ।

हाम्रो नयाँ सुरुवातमा सहभागी हुन विनम्र निमन्त्रणा

धेरै साथीभाइ, शुभचिन्तक, पर्यटन क्षेत्रका सहकर्मी र पुराना पाहुनाहरूले बारम्बार दिनुभएको हौसलापछि, म जीवनमा पहिलो पटक आफ्नो यो व्यक्तिगत कथा सार्वजनिक रूपमा बाँड्दै छु ।

म एउटा कुरा पूर्ण रूपमा स्पष्ट पार्न चाहन्छु— यो कथा कसैलाई पनि आर्थिक दायित्व वा दबाबमा पार्ने उद्देश्यले लेखिएको होइन । तपाईंहरूको प्रार्थना, शुभकामना, हौसला र नैतिक साथ मेरो र मेरो परिवारका लागि पहिले नै अमूल्य छन् ।

अब मैले ‘गुड लक लज एन्ड रेस्टुरेन्ट’ पुनर्निर्माण गर्ने दृढ संकल्प गरिसकेको छु । त्यसैले, हाम्रो यात्रामा साथ दिनुभएका सबैलाई यो नयाँ अध्यायको सुरुवातमा हाम्रो साथमा उभिन म विनम्रतापूर्वक आग्रह गर्दछु । साथ दिने तरिका धेरै हुन सक्छन्— हाम्रो कथा अरूसँग बाँडेर, सल्लाह दिएर, हौसलाका शब्द पठाएर, वा केवल हामीलाई आफ्नो सम्झना र प्रार्थनामा राखेर ।

पुनर्निर्माणको यो यात्रामा साँच्चै साथ दिन वा सहभागी हुन चाहनुहुने जो कोहीलाई पनि हामीसँग व्यक्तिगत रूपमा सम्पर्क गर्न हार्दिक स्वागत छ । यसमा कुनै अपेक्षा छैन, र कुनै पनि किसिमको बाध्यता छैन ।

म सबैको गोपनीयताको पनि हृदयदेखि सम्मान गर्छु । कसैको पूर्वअनुमतिबिना म उहाँको नाम वा उहाँले दिनुभएको सहयोगको प्रकृति कहिल्यै सार्वजनिक गर्ने छैन ।

“मेरा लागि सहयोग पैसाले नापिँदैन । हरेक सहयोगी हातपछाडि रहेको सद्भाव, माया, विश्वास र मानवीय नाता नै साँच्चिकै महत्त्वपूर्ण हो ।”

कृतज्ञता नै मानवताको सबैभन्दा ठूलो रूप हो । म मेरा परिवार, आफन्त, सोलुखुम्बुका सम्पूर्ण शेर्पा दाजुभाइ तथा दिदीबहिनी, ट्रेकिङ तथा ट्राभल व्यवसायी, गाइड, सहयोगी साथीहरू, हाम्रा अन्तर्राष्ट्रिय ग्राहक र यो पीडादायी समयमा मेरो पक्षमा चट्टानझैँ उभिइरहनुभएका देश तथा विदेशका समस्त शुभचिन्तकहरूप्रति मेरो हृदयदेखि नै आभार प्रकट गर्दछु ।

एक दिन समय अवश्य फेरिनेछ, परिस्थिति बदलिनेछ । जब यो खरानीको थुप्रोबाट फेरि ‘गुड लक लज एण्ड रेस्टुरेन्ट’ का ढोकाहरू खुल्नेछन् र तातो चियाको बाफसँगै पाहुनाहरूलाई स्वागत गर्न पाइनेछ, म सधैँ सम्झिरहनेछु कि त्यो नवीन सुरुवात मेरो एक्लो पसिनाको मात्र परिणाम होइन, तपाईंकै यही न्यानो माया, आशिष् र परोपकारी भावनाको प्रतिफल हो ।

डिङ्बोचेको चिसो हावामा फेरि एकपटक हाँसो गुञ्जाउने दिनको प्रतीक्षामा रहनेछु । तपाईंहरू सबैलाई डिङ्बोचेमा पुनः स्वागत गर्ने अवसर मिलोस्, मेरो यही एकमात्र कामना छ ।

धन्यवाद !

तपाईंहरूकै आतिथ्यकारी,

कुल तामाङ